काठमाडौं, ८ मंसिर। प्रतिनिधिसभाअन्तर्गतका चारवटा संसदीय समितिले आज बैठक बसेर विभिन्न विषयमा छलफल गर्दैछन्।
सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ९ बजे बस्दै छ। बैठकमा मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनासम्बन्धी विषय छलफलको कार्यसूचीमा राखिएको छ। आयोजनाअन्तर्गत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया पूरा भइसकेपछि अन्तिम समयमा रद्द गरिएको भन्दै उजुरी परेको छ। उजुरीकर्ताले रद्द गर्ने निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको र त्यसरी अघि बढ्दा राज्यलाई नै आर्थिक नोक्सानी हुने दाबी गरेका छन्। सोही उजुरीका आधारमा समितिले विषयमा छलफल गर्न लागेको हो।
अर्थ समिति बिहान ११ बजे बस्दै छ। बैठकमा अर्थसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि छलफल हुनेछ।
महिला तथा सामाजिक मामिला समितिको बैठक भने बिहान ९ बजेदेखि नै चलिरहेको छ। समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल भइरहेको छ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दै छ। बैठकले चलचित्र विधेयकमाथि छलफल गर्ने कार्यसूची तय गरेको छ।