काठमाडौं, ८ मंसिर। राष्ट्रपति कार्यालयमा अध्यादेशको चाप बढेको छ। जेनजी आन्दोलनका घटनाको छानबिन र क्षतिपूर्तिका लागि आयोग बनाउने अध्यादेश गत आइतबार पुगेपछि कार्यालयमा विचाराधीन अध्यादेश तीनवटा भएका छन्।
यसअघि सरकारले कात्तिक १७ मा प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी ऐन संशोधनका लागि दुईवटा अध्यादेश सिफारिस गरेको थियो। ती पनि कार्यालयमै छन्, जसको अध्ययन भइरहेको कार्यालयले जनाएको छ।
संविधानको धारा ११४ ले संसद् अधिवेशन नचलेको बेला तत्काल आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्न दिन्छ। तर सरकारले अध्यादेशमा के छ र किन तत्काल चाहियो भन्ने खुलाएको छैन। राष्ट्रपति कार्यालयले पनि प्रावधानबारे केही बताएको छैन।