विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो।
जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष अनिल रौनियार र उनको नेतृत्वको नयाँ कार्यसमितिलाई पदको शपथ गराएका थिए। साे कार्यक्रममा ग्लाेबलकाे प्रथम उपाध्यक्ष सन्ताेष राैनियार, सचिव मुकेश कुमार यादव र काेषाध्यक्ष चन्द्र कुमारी सरकारलाई समेत पदस्थापन गराइएकाे थियाे ।
जिम्मेवारी सम्हालेपछि अध्यक्ष रौनियारले क्लबले अहिलेसम्म सञ्चालन गर्दै आएका सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई आगामी दिनमा अझ फराकिलो र सुव्यवस्थित बनाउने बताए। वर्षभर नै निरन्तर रूपमा प्रभावकारी सेवामूलक गतिविधि सञ्चालन गर्ने योजना रहेको उनले जानकारी गराए। क्लबले हालका वर्षहरूमा रक्तदान, वृक्षरोपण, खाद्यान्न वितरण, ज्येष्ठ नागरिकको सेवा तथा मानव सेवा आश्रममा भोजन खुवाउने जस्ता कार्यक्रम गर्दै आएको छ। आगामी कार्यकालमा समाजको वास्तविक आवश्यकतामा आधारित सेवालाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमको प्रभावकारिता बढाउने अध्यक्ष रौनियारले प्रतिबद्धता जनाए।
साेहि कार्यक्रममा लियाे क्लब अफ विराटनगर ग्लोबलका अध्यक्ष क्रिजन काफ्ले सहित उपाध्यक्ष वेनु खितवडा, सचिव उत्कृष्ट गिरी र काेषाध्क्ष मनाेज बुढाथाेकीलाई पनि नँया कार्यकालकाे लागी आपचारिकरुपमा पदस्थापित गराईएकाे थियाे ।
समारोहमा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर उदय नारायण बराल तथा पूर्व डिस्ट्रिक्ट गभर्नर (PDG) हरू धिराज गुरुङ, लायन बाबरजंग थापा, लिला ढुंगेल, विजयहरि शर्मा र रेवतबहादुर कार्कीको उपस्थिति रहेको थियो। साथै लायन्स क्लबका अग्रज, पदाधिकारी तथा सदस्यहरूको पनि सहभागिता थियो। नयाँ नेतृत्वसँगै क्लबको सामाजिक तथा मानवीय सेवा अभियानले थप गति लिने अपेक्षा गरिएको छ।