काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका देउवा थाई एयरवेजको उडानबाट आज (बिहीबार) मध्याह्न १२:३० बजे काठमाडौं ओर्लिनेछन्।
गत जेनजी आन्दोलनताका भएको हमलामा घाइते भएपछि देउवा फागुन १३ गते सिंगापुर एयरलाइन्सबाट उपचारार्थ सिंगापुर गएका थिए। पछि चैत ७ गते थप उपचारका लागि उनी हङकङ प्रस्थान गरेका थिए। स्वदेश फर्किएलगत्तै देउवाले शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलामा भाग लिनेछन्। प्रचारप्रसार समिति संयोजककाे अनुसार उद्घाटन कार्यक्रम शुक्रबार दिउँसो १ बजेदेखि सुरु हुनेछ। तीन दिने यस भेलामा करिब पाँच हजार नेता-कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ।