काठमाडौं, १९ कात्तिक। पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्न पुगेका छन्। उनको रिट बोकेर केही समयअघि वकिलहरू सर्वोच्च पुगेका हुन्।
सरकारले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। आफूमाथि अन्याय भएको दाबी गर्दै उनी अदालतको शरणमा पुगेका हुन्। अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्र उक्त रिट दर्ता हुन्छ कि हुँदैन भन्ने टुंगो लाग्नेछ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई पदमुक्त गर्दै उनको ठाउँमा एआईजी मनोज केसीलाई नियुक्त गरेको थियो। साथै, प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको नयाँ पद सिर्जना गरी कार्कीलाई त्यहाँ पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको थियो।