विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् ।
विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय कार्की अघिल्लो महानगर अधिवेशनमा पनि सभापतिका उम्मेदवार थिए । एक समय नेता कृष्णप्रसाद सिटौलाको निकट मानिएका उनी हालसालै संस्थापन पक्षमा देखिन थालेका छन् । अर्का उम्मेदवार गिरीले पार्टीलाई तल्लो तहसम्म सुधार्ने उद्देश्यले आफू उम्मेदवार बनेको र सबै कांग्रेसीका भावनालाई स्थान दिन अघि सरेको उनको भनाइ छ ।
अन्य पदमध्ये खुला उपसभापतिमा शुभाषिस कोइरालाको एक्लै उम्मेदवारी परेकाले उनी सर्वसम्मत भएका छन् । महिला उपसभापतिमा भने श्रुती शर्मा र कृष्णाकुमारी साहबीच प्रतिस्पर्धा हुनेछ । सचिवमा वीरेन्द्रप्रसाद यादव एक्ला उम्मेदवार भएकाले सर्वसम्मत ठहरिएका छन् भने एक सह–सचिवका लागि टीकाराम सापकोटा र दिवस गिरीबीच चुनाव हुने भएको छ ।
निर्वाचन समितिका अनुसार महानगर समितिको सदस्य पदका अधिकांश क्लस्टरमा सर्वसम्मत चयन भइसकेको छ । निर्वाचन समितिले मंगलबार मतदान गराउने तयारी गरेकाे छ ।