१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो ।
प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको भाग भत्किएको जानकारी दिएको छ ।
पुल भत्किएसँगै दोधारा चाँदनी र भीमदत्तनगरबीचको आवतजावत ठप्प भएको छ । अब यात्रुले करिब दुई किलोमिटर माथि पुगेर पक्की पुल हुँदै आउजाउ गर्नुपर्ने अवस्था छ ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार नटबोल्टलगायतका अन्य कारणले पुलको स्पान खसेको भए आजै साँझसम्म मर्मत गरी सञ्चालनमा ल्याउन सकिने बताए ।