काठमाडाै, कार्तिक २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेपछि पार्टीले उनलाई बधाई दिएको छ। महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारमा वाग्लेले देखाएको नेतृत्वलाई नेपालका लागि महत्त्वपूर्ण भनिएको छ।
विज्ञप्तिअनुसार रसुवा/भोटेकोशी बाढीपछि वाग्लेको नेतृत्वमा द्रुत विपद्पश्चातको आवश्यकता आँकलन गर्नुका साथै, कार्बन उत्सर्जनमा योगदान नगर्ने देशले भोग्नुपर्ने क्षति र विश्वसमुदायको दायित्वबारे तथ्यमा आधारित पैरवी भयो। संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट रकम पाउने पहिलो देश नेपाल बन्ने पहल र पीडित नागरिकका लागि अर्बौँ रकम जुटाउन पाएको सफलतालाई पनि पार्टीले उल्लेख गरेको छ।
जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि असर असमान रूपमा भोग्नुपरेको उल्लेख गर्दै रास्वपाले हिमाली तथा पहाडी क्षेत्रको जोखिम र प्रभावित समुदायका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन वाग्लेको भूमिका रहेको जनाएको छ। यो उपलब्धि व्यक्तिगत सम्मान मात्र नभई नेपालजस्ता जलवायु प्रभावित देशतर्फ विश्वको ध्यान तानिएको प्रमाण भएको पार्टीको भनाइ छ। पार्टीले यसलाई जलवायु कूटनीति र न्यायपूर्ण जलवायु कार्यका लागि थप जिम्मेवारीका रूपमा लिने बताएको छ।