काठमाडाै, कार्तिक २४ । नेपाल संवत् ११४७ आज देशभर विविध कार्यक्रमसहित मनाइँदै छ। नेवार समुदायले यस दिनलाई नयाँ वर्षका रूपमा मनाउँदै म्हः (आत्म) पूजा पनि गरिरहेका छन्। काठमाडौंको वसन्तपुरमा नेवार समुदायका मानिस भेला भई बाजागाजासहित पर्व मनाएका छन्।
इतिहासअनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरेपछि नेपाल संवत् सुरु भएको थियो। पृथ्वीनारायण शाहको शासनकालसम्म यसले राष्ट्रिय संवत्को मान्यता पाएको थियो। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् नेपालकै मौलिक संवत् हो भने त्यसअघि शक संवत् प्रचलनमा थियो।
नेपाल संवत्लाई पुनः राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान चल्दै आएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार बाहुल्य क्षेत्रमा यो पर्व विशेष रूपमा मनाइन्छ।