१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पत्रकार किशोर नेपाललाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

Logo
जनचर्चा संवाददाता

विराटनगर,१५ माघ / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए ।

‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरु छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो ।
नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए । उनले संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गरे ।

‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’ नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताए । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालालगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले नोना कोइराला त्याग र समर्पणको प्रतीक भएको बताएका थिए । कार्यक्रममा कांग्रेस नेता वसन्त भट्टराईले नोना कोइरालाले पार्टीमा अभिभावकको भूमिका निर्वाह गरेको बताए ।

उनले मन्त्री पदसमेत अस्वीकार गरेर त्याग राजनीति गरेको स्मरण गरे । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोइराला निवासमा पुग्ने जोकोहीलाई नोनाले आप्mनै छोराछोरीको व्यवहार गर्ने गरेको बताए । उनले विपन्न र शहीदका छोराछोरीलाई धेरैलाई डाक्टर, इन्जिनियर बनाएको भन्दै चर्चा गरे । जनतालाई अधिकार दिलाउन कठोर र पार्टी र प्रजातन्त्रका लागि लडेकाहरुका लागि आमा बनेर प्रस्तुत हुने गरेको उनको भनाइ थियो ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले नोना कोइरालासित राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय जोडिएको बताए । कोइराला परिवारलाई एक्कढिक्का बनाएर राजनीतिमा अगाडि बढाउन नोनाको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाको भनाइ थियो । प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालाले विराटनगरको आदर्श, आदर्श बालिका विद्यालयलगायत शैक्षिक संस्थाहरुको स्थापना र विकासमा नोना आमाको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।

उनले नोना कोइरालाले महिलाहरु आत्मनिर्भर र स्वाभिमानपूर्वक बाँच्नुपर्छ भन्ने गरेको बताइन् । पुरस्कृत पत्रकार नेपालले सञ्चार क्षेत्रले जहिल्यै पनि विपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, महासचिव अमित श्रीवास्तव, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक प्रा.डा. संजीवकुमार शर्मालगायतले नोना कोइरालाको योगदानको चर्चा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]