२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Logo
जनचर्चा संवाददाता

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना धारणा राखेका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पवन शारडा, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सिएनआई कोशी प्रदेश अध्यक्ष पवन शारडा तथा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण बिजनेस एजका सम्पादक मदन लम्सालले गरेका थिए ।

छलफल जेनजी आन्दोलनले दिएको सन्देश, त्यसले उद्योग-व्यवसायमा पारेको प्रभाव र अब देशले लिनुपर्ने आर्थिक तथा नीतिगत बाटोमा केन्द्रित थियो । सहभागीहरूले आन्दोलनले उठाएका मुद्दा जायज भए पनि त्यसको स्वरूप र असरले निजी क्षेत्र थप असुरक्षित बनेकोमा चिन्ता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले जेनजी आन्दोलनले देशलाई ठूलो सन्देश दिन खोजेको बताउँदै पुराना पुस्ता, राजनीति र कर्मचारीतन्त्र नसच्चिएसम्म आन्दोलनको मर्म पूरा नहुने धारणा राखे । उनले निजी क्षेत्रले धेरै अघिदेखि उठाउँदै आएका माग राज्य र राजनीतिक दलहरूले नसुनेकै कारण असन्तुष्टि विस्फोट भएको बताए । “देशमा भ्रष्टाचार अति भएपछि युवाहरू सडकमा उत्रिएका हुन्,” उनले भने, “अब नीति, नियम र कार्यशैली सबै सहज र माटो सुहाउँदो हुनुपर्छ ।”

रिजालले आगजनी, तोडफोड र उद्योगी–व्यवसायीमाथि आक्रमणले निजी क्षेत्रमा ‘चिसो’ पसेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले लगानी र रोजगारी दुवैलाई असर गर्ने चेतावनी दिए । नेपाल ठूलो बजार भएको भन्दै उनले डिजिटल बजार, हाइड्रोपावर, कृषि, पर्यटन र निर्यात प्रवर्द्धनमा ठूलो सम्भावना रहेको बताए । “निर्यात बिना व्यापार घाटा घटाउन असम्भव छ,” उनले जोड दिए ।

मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पवन शारडाले जेनजी आन्दोलन व्यापक असन्तुष्टिको परिणाम भएको र मागहरू जायज भएको बताए । तर राजनीतिक दल र कर्मचारीतन्त्रमा अझै मानसिक परिवर्तन नआएको उनको भनाइ थियो । “भ्रष्टाचाररहित देश नबनाइन्जेल जेनजी आन्दोलनको सार्थकता हुँदैन,” उनले भने । भारत र चीनको उदाहरण दिँदै उनले छिमेकी मुलुकहरूले प्रगति गरिसक्दा नेपाल किन पछि पर्‍यो भन्ने प्रश्न उठाए ।

शारडाले उच्च करका कारण नेपाली उद्योग व्यवसाय भारतसँग प्रतिस्पर्धी बन्न नसकेको उल्लेख गर्दै सरल कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो राजनीतिकरण र कमजोर सरकारी सेवाका कारण नागरिक निजी क्षेत्रतर्फ बाध्य भएको उनको भनाइ थियो । युवा पलायन रोक्न सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव पनि उनले दिए ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जेनजी आन्दोलनले अर्थतन्त्र र व्यवसायमा ठूलो क्षति पुर्‍याएको बताए । “दुई दिनमै करिब एक खर्ब रुपैयाँ बराबरको क्षति भयो,” उनले भने । आन्दोलनको नेतृत्व स्पष्ट नहुँदा व्यवसायी झन् त्रसित बनेको उनको भनाइ थियो । कर तिर्ने व्यवसायीले सुरक्षा प्रत्याभूति नपाएको गुनासो गर्दै उनले लगानीको वातावरण बिग्रिएको बताए ।

आफ्नो होटलमा आगलागी हुँदा पर्याप्त सहुलियत नपाएको उदाहरण दिँदै दुलालले करदाता सम्मानित हुने संस्कार विकास गर्नुपर्नेमा जोड दिए । उपभोक्ता घट्दै जानु र युवा पलायन देशकै ठूलो समस्या बनेको उल्लेख गर्दै उनले पर्यटन, कृषि र जलविद्युतमा लगानी बढाएर देशभित्रै अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जेनजी आन्दोलन नेतृत्वविहीन र संगठनविहीन भएकाले अपेक्षित परिणाम दिन नसकेको बताए । आन्दोलनको नाममा निजी क्षेत्रमा भएको आक्रमण निन्दनीय भएको उनको भनाइ थियो । संघीय शासन प्रणालीपछि विकास नभएको भन्ने भाष्य गलत भएको दाबी गर्दै उनले विकासले गति लिएको तर दृष्टिकोणको अभाव देखिएको बताए ।

निरौलाले कर प्रणाली सुधार, संघ–प्रदेश–स्थानीय तहबीच कानुनी एकरूपता र राष्ट्रिय पूँजी संरक्षणको आवश्यकता औंल्याए । पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै एकीकृत मास्टर प्लान बनाएर नतिजामुखी विकासमा अघि बढ्नुपर्ने सुझाव दिए । “सुशासनसहितको विकास प्रणालीमा प्रवेश गर्नु नै जेनजी आन्दोलनको मूल माग हो,” उनले भने, “तीन तहका सरकारबीचको खाडल पुर्नु र सार्वजनिक–निजी साझेदारीमा काम गर्नु आजको आवश्यकता हो ।”

कार्यक्रम संयोजक अनिल शारडाका अनुसार यस्ता छलफलले नीति निर्माता, निजी क्षेत्र र युवाबीच संवाद बढाउने विश्वास लिइएको छ । विराट ट्रेड एक्स्पोले व्यापार प्रवर्द्धनसँगै नीतिगत बहसलाई समेत प्राथमिकता दिएको सहभागीहरूको निष्कर्ष थियो ।

शत्रको शुरुवातमा आईक्यान मोरङका अध्यक्ष सिए सुरज तिम्सिनाले वर्तमान कर प्रणाली र खाता संचालन सम्बन्धी विषयमा प्रस्तुति दिएका थिए ।

यसैगरी दोस्रो शत्रमा नयाँ भन्सार कानुन तथा नियामक प्रावधान विषयमा भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी विमल कुमार शाहको प्रस्तुति थियो । प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख केशव सेढाइँले कर प्रणालीका विषयमा आफ्ना धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]