२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

भारतकाे मेघालय कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो

Logo
जनचर्चा संवाददाता

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् ।

विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको र शरीरको बनावटका आधारमा पहिचान गरिएको पारिवारिक स्रोतले जनाएको छ । खबर आएलगत्तै परिवारले काजकिरिया सुरु गरेको छ ।

यसअघि माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा भएको विष्फोटमा खोटाङकै २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको थियो । तीनै जना एउटै गाउँका हुन् । पूर्णबहादुर र सुरेन्द्र दाजुभाइ रहेको बताइएको छ ।

स्थानीयका अनुसार पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै ज्यान गएको थियो भने नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको हो । तीनै जनाको शव भारतकै सिलाङमा दाहसंस्कार गरिएको छ ।

घटनामा परेका अन्य तीन नेपाली गम्भीर घाइते अवस्थामा उपचाररत छन् । साथै, विष्फोटपछि दर्जनौँ कामदार खानीभित्रै फसेको अनुमान गरिएको छ ।

परिवारजनका अनुसार मृतक र घाइतेहरू सबै आर्थिक अभावका कारण जोखिमपूर्ण काम गर्न भारत गएको बताइन्छ । शव नेपाल ल्याउन कुनै सरकारी सहयोग नपाएको भन्दै पीडित परिवारले गुनासो गरेका छन् ।

यो घटनाले वैदेशिक रोजगारीका नाममा जोखिमपूर्ण र अवैध काममा संलग्न नेपालीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]