वासिन्ङ्गटन, असाेज ७ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे दिएको चेतावनी अहिले नेपालमा भएका दुःखद घटनाहरूले सत्य साबित गरेको बताएका छन्। मंगलाबार महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालका हिमाल तीव्र गतिमा पग्लिरहेको भन्दै दिएको चेतावनीलाई त्यतिबेला कतिपयले बढाइचढाइ भनेका थिए, तर अहिलेका घटनाले जोखिम अपेक्षाभन्दा चाँडै र व्यापक रूपमा देखा परिरहेको उनले औँल्याए। जलवायु परिवर्तनको मूल्य कमजोर तथा गरिब देशहरूले तिरिरहेका तर उनीहरूले न्याय नपाएको बताउँदै गुटेरेसले प्रदूषण गर्ने धनी देशहरूले नै यसको भार बहन गर्नुपर्ने र जलवायु न्याय सुनिश्चित गर्नुपर्ने माग गरे। हानि-नोक्सानी कोषमा रकम लाजमर्दो रूपमा न्यून रहेको र थप शोषण हुन नहुने चेतावनी पनि उनले दिए।