काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको नियम १९९ अनुसार स्थायी सेवाको तीन वर्ष पूरा गरेका शिक्षकलाई मात्र एउटा सामुदायिक विद्यालयबाट अर्कोमा सरुवा गर्न मिल्ने व्यवस्था छ।
यो तीन वर्षे व्यवस्था गत असार १८ मा भएको दसौँ संशोधनबाट लागू भएको थियो। त्यसयता शिक्षकहरूले अवधि अनावश्यक रूपमा लामो भएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। विशेषगरी नयाँ प्रवेश गरेका शिक्षकले समेत उही अवधि कुर्नुपर्दा आफू मारमा परेको गुनासो गरेका थिए। यही दबाबपछि तीन महिनाभित्रै सरकारले नियमावली पुनः संशोधन गर्न थालेको हो।
नेपाल शिक्षक महासंघले भने सुरुदेखि नै एक वर्षमै सरुवा खुला गर्नुपर्ने माग राख्दै आएको थियो।