२२ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
Gold Silver Price (Kartik 17, 2083, TUE)
Fine Gold 1 Tola NRs. 275500
Silver 1 Tola Nrs. 3690

अजिटम सेवा केन्द्र सञ्चालन गर्न महानगर र करुणा फाउण्डेसनबीच सम्झौता

Logo
जनचर्चा संवाददाता

विराटनगर,२३ पुस / विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ ।

सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोशी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार फाउण्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । जसअन्तर्गत सेवा केन्द्रमा कार्यरत जनशक्तिलाई तालिम दिने, अटिजम भएका बालबालिकाको प्रोपाइल तयार गर्ने, फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदानलगायतका प्राविधिक क्रियाकलापमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

अटिजम सेवा केन्द्रको आफ्नै भौतिक संरचना निर्माणका लागि स्रोत जुटाउन समन्वय र सहयोग गरी सम्झौता भएको महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवले जानकारी दिनुभयो । सेवा केन्द्रको भवन निर्माण गर्न महानगरले जग्गा उपलब्ध गराउनेछ । सो जग्गामा भवन निर्माण गर्न करुणा फाउण्डेसनले सहजीकरण गर्नेछ ।
मेयर कोइरालाले अटिजम सेवा केन्द्रका अनुगमन गर्नुका साथै कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो । उहाँले अटिजम सेवा केन्द्र आफ्नो ड्रिम प्रोजेक्ट भएकाले यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अटिजम सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकममध्येबाटै ३० लाख रुपैयाँको लागतमा गत कात्तिकदेखि महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सेवा केन्द्रकी संयोजक रश्मी निरौलाका अनुसार केन्द्र बिहान १० देखि २ बजेसम्म सञ्चालन भइरहेको छ । हाल केन्द्रमा ३ बालिकासहित २० जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिजम भएका बालबालिका छन् ।

केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइनेछ । उनीहरूलाई उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने यादवले जानकारी दिए । हाल फिजियोथेरापी, स्पीच थेरापी, फिजिसियन सेवा, खाजा, गाडीलगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । सेवा केन्द्रमा भर्ना गर्न आउनेको अभिभावकहरूको चाप अत्यधिक भए पनि सीमित भौतिक संरचनाका कारण हाललाई थप भर्ना गर्न नसकिएको पराजुलीले बताउनुभयो । आफ्नै भवन निर्माणपछि संख्या बढाउँदै लगिने उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १९ कात्तिक। पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्न पुगेका छन्। उनको रिट बोकेर केही समयअघि वकिलहरू सर्वोच्च पुगेका हुन्। सरकारले  कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। आफूमाथि अन्याय भएको दाबी गर्दै उनी अदालतको शरणमा पुगेका हुन्। अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि […]

काठमाडौं, १९ कात्तिक। रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग थपिने क्रम अझै रोकिएको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ९ बजेसम्म यी कोषका विभिन्न खातामा जम्मा रकम १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ पुगेको छ। यसमध्ये प्रधानमन्त्री दैवी प्रकोप […]

काठमाडौं, १७ कात्तिक – सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक ४ बजे बस्ने गरी बोलाइएको हो। करिब दुई साताको अन्तरालपछि बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।