विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि औपचारिक रुपमा संचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्।
अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको शुभारम्भ गरेका थिए।
उद्घाटन कार्यक्रमा उद्योगी, व्यवसायी, चिकित्सक, राजनीतिक दलका पदाधिकारी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा सहभागीहरूले अस्पताल सञ्चालक सनातन मण्डल, सञ्चालक समितिका अध्यक्ष डा. रमेश चौरसिया, डा. रंजिव यादव, डा. अजय महतो, डा. मनिष अग्रवाल, डा. टेकनारायण यादव र एडमिन सन्ताेष मेहतालाई बधाई तथा शुभकामना व्यक्त गरे।
प्राइम अस्पतालमा आइतबारदेखि नै एकसाथ १५ जना दक्ष विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्न थालेका छन्। अस्पतालले बिरामीहरूलाई विशेषतायुक्त गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने सञ्चालक मण्डलले बताए। उनले बिरामीलाई पूर्ण रूपमा निको पारेर मात्र घर फर्काउने प्रतिबद्धता व्यक्त गरे।
अस्पताल चौकमा पहिले गोल्डेन अस्पताल सञ्चालनमा रहेको पाँच तले भवनमा अहिले प्राइम अस्पताल सञ्चालन भएको हो। अस्पतालको नजिकै ४ कठ्ठा क्षेत्रफलमा तीन वटा छुट्टाछुट्टै पार्किङ स्थल निर्माण गरिएको छ ।