काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ।
बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्। रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेकाले उनले दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। साथै प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी प्रश्नको जवाफ पनि उनैले दिनुपर्ने छ।
त्यसपछि विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमा दर्ता भएका २० वटा खर्च कटौती प्रस्तावहरू सभामा निर्णयार्थ पेस हुनेछन्। ती प्रस्तावमाथि निर्णय भइसकेपछि विनियोजन विधेयक २०८३ का दफाहरू पारित प्रक्रियामा जानेछन् र अन्तमा अर्थमन्त्रीले विधेयक पारित गरियोस् भनी औपचारिक प्रस्ताव सभासमक्ष राख्नेछन्।