२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

विराट गोल्डकपको आठौं संस्करणमा २२ लाख बढी घाटा

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, पुष २९, २०८१

विराटनगर,२९ पुस /  प्रतियोगिता भएको नौ महिनापछि विराट गोल्डकपले हिसाबकिताब सार्वजनिक गरिएको छ । विराटनगरको प्रतिष्ठा एवं इज्जतसँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता लगातार घाटामा गइरहेको हो ।

लगातार दुईवटा प्रतियोगिता नोक्सानमा गएको हो । गोल्डकपको सातौं र आठौं संस्करणले ठूलो नोक्सानी बेहोर्नु परेको छ । विराटनगरमा ९ महिनाअघि सम्पन्न भएको ऐतिहासिक विराट गोल्डकपको आठौं संस्करणमा २२ लाख बढी घाटा भएको विवरण आइतबार सार्वजनिक गरिएको छ ।

आठौं संस्करण २०८० चैत १५ गते सुरू भएर २४ गते सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएको नौ महिनापछि सार्वजनिक आयव्यय विवरण अनुसार गोल्डकपबाट २२ लाख ६२ हजार ८ सय ८ रूपैयाँ नोक्सानी भएको छ ।

आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा पत्रकार सम्मेलन गरेर गोल्डकपमा ८२ लाख ६० हजार ८ सय ३५ रूपैयाँ आम्दानी भएको र एक करोड पाँच लाख २३ हजार ६ सय ४३ रूपैयाँ खर्च भएको जानकारी दिएको हो ।

ट्रष्टका अनुसार कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले असहयोग गरेकाकारण गोल्डकप घाटामा गएको दाबी गरेको छ । प्रदेश सरकार र राखेपले कबोल गरेको रकम उपलब्ध नगराउँदा गोल्डकपले नोक्सान बेहोरेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए ।

उनले भने, ‘गोल्डकप गराउँदाको समयमा तत्कालीन मुख्यमन्त्री केदार कार्कीले २५ लाख रुपैयाँ बजेट राखिदिनुभएको थियो । तर, उहाँ सरकारबाट बाहिरिएपछि नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि रकम उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो । तर, प्रदेश सरकारले रकम उपलब्ध गराएन । खेलकुदलाई पूरै बेवास्ता गर्यो ।’

शाहीले प्रदेश सरकारबाट २५ लाख र राखेपबाट पाँच लाख रुपैयाँ उपलब्ध गराउने आश्वासनपछि गोल्डकप सम्पन्न गरिएको बताए ।

‘सरकारले २५ लाख मात्रै दिएको भए गोल्डकप नाफामा जाने थियो । यस विषयमा हामीले प्रदेश खेलकुद विकास बोर्ड र सामाजिक विकास मन्त्रालयलगायत सबैतिर पटकपटक भन्यौं । तर, कतैबाट सहजीकरण भएन,’ उनी भन्छन्, ‘सरकारले इटहरी गोल्डकप, झापा गोल्डकप र धरानमा हुने बुढासुब्बा गोल्डकपलाई समेत रकम दिएन । यसले पनि सरकार खेलकुदप्रति जिम्मेवारी छैन भन्ने प्रष्ट हुन्छ । अझैसम्म खेलकुद सरकारकै बेवास्ताको सिकार भइरहेको छ ।’

ट्रष्टका महासचिव विनेश बस्नेत सरकार र खेलकुद निकायकै कारण गोल्डकपमा ठूलो नोक्सानी बेहोर्नु परेको बताउँछन् । कबोल गरेको रकम उपलब्ध नहुँदा बजारमा समेत बाँकी रकम तिर्न समस्या भइरहेको उनको भनाइ छ ।

गोल्डकपमा विभिन्न प्रायोजकबाट ३५ लाख ९५ हजार, टिकट बिक्रीबाट ३५ लाख २० हजार र विराटनगर महानगरपालिकाबाट ११ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको उनले बताए । उनका अनुसार गोल्डकपमा पुरस्कार, मेडल तथा ट्रफीतर्फ २० लाख ८७ हजार, क्लबको यातायात खर्चमा १३ लाख, फ्लेक्स बोर्डतर्फ १२ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ ।

विगतमा ट्रष्टको कार्यसमितिले संयोजक राखेर प्रतियोगिता गर्दै आएको थियो । तर, आठौं संस्करण भने ट्रष्ट आफैंले आयोजना गरेको हो । प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न भएपनि घाटा बेहोर्नु परेको ट्रष्टका कोषाध्यक्ष अनुज बानियाँले बताए ।

प्रतियोगितामा ३ विदेशीसहित १० वटा टिमको सहभागिता रहेको थियो । जसमा भारतको २ र भुटानको १ वटा तथा नेपालबाट विभागीयसहित ७ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको थियो ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार नगद पुरस्कार पाएका थिए । त्योबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई २१ हजार रूपैयाँका दरले दिइएको कोषाध्यक्ष बानियाँले बताए ।

उनका अनुसार दैनिक उत्कृष्ट हुने खेलाडीलाई ११ हजार रूपैयाँका दरले र सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको थियो ।

आर्थिक मन्दीका कारण औद्योगिक एवं व्यापारिक क्षेत्र समस्यामा परेकाले स्रोत जुटाउन समस्या भएको बानिया बताउँछन् ।

‘आर्थिक मन्दीको असर सबै क्षेत्रमा परेका कारण सहयोग जुटाउन कठिन भयो । तर, विराट गोल्डकपको पहिचानलाई जोगाइराख्न प्रतियोगिता संचालन गर्नैपर्ने बाध्यता थियो । त्यहाँमाथि सरकार र राखेपबाट सहयोग भएन । विभिन्न चुनौतीको सामना गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरियो,’ उनले भने ।

गोल्डकपको सातौं संस्करणसमेत नोक्सानमा गएको थियो । त्यतिबेला ८७ लाख रूपैयाँ बराबर घाटा भएको हो । लगातार घाटा बेहोर्ने अवस्था सिर्जना हुनु विराट गोल्डकपका लागि चिन्ताको विषय भएको ट्रष्टले जनाएको छ ।

लगातारको घाटासँग जोडेर गोल्डकपको भविष्यका बारेमा अनेक टिप्पणी एवं चर्चासमेत भइरहेका छन् । अध्यक्ष शाहीका अनुसार ट्रष्टले गोल्डकपको नवौं संस्करण आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)बाट आगामी फागुन २१ गतेको समय पाएको छ ।

खेलकुदलाई साथ दिनुपर्ने र सहयोग गर्नुपर्ने निकायबाटै बेवास्ता भइरहेकाले एन्फाबाट पाएको समयमा गोल्डकपलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल सुरू भएकोसमेत उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]