
काठमाडौं, १२ असोज – काठमाडौंको ऐतिहासिक इटुम्बहालमा नयाँ जीवित देवीको चयन भएको छ। साढे दुई वर्षीया आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा चयन गरी मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेसम्मको शुभ साइतमा आसन ग्रहण गराइने भएको छ।
नयाँ कुमारीको चयनसँगै वर्तमान कुमारी तृष्णा शाक्यलाई परम्परागत बाजागाजासहित सम्मानजनक बिदाइ गरिने कार्यक्रम रहेको छ। शाक्य महाबिहार संघको नेतृत्वमा सम्पन्न यो चयन प्रक्रियामा शहरका १५ वटा बहालहरूलाई नाम सिफारिस गर्न आग्रह गरिएको थियो।
निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको संयुक्त परामर्शमा परम्परागत मापदण्ड अनुसार आर्यतारा शाक्यलाई चयन गरिएको संघले जानकारी दिएको छ। नेपालको यो अनुपम परम्परामा कुमारीलाई जीवित देवीका रूपमा पूजा गरिने चलन छ।