दक्षिण कोरिया/सौल ,भाद्र १३
दक्षिण कोरियामा गत शनिबार र आइतबार एशिया कल्चर फेस्टिवलमा भिजिट नेपाल २०२० को प्रचार प्रसार गरिएको छ । कोरियाको राजधानी सौल स्थित हेह्वामा हजारौं कोरियन साथै एसियन मुलुक सामु नेपाली झन्डा नेपाली गीतसंगीत नेपाली भेषभुषा झल्काउदै भिजिट नेपाल २०२० को प्रचार प्रसार गरिएको हो ।
कोरिया सरकार संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालय सदस्य साथै स्थानीय प्रतिनिधि सभा सदस्यको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपालको तर्फबाट नवराज शिवाकोटीले सहभागिता जनाउनु भएको थियो । शिवाकोटी कोरियामा रहेका विभिन्न संघसंस्थामा आवद्ध भई विभिन्न सामाजिक कार्यमा अग्रसर रहदै कोरियामा व्यावसाय गर्दै आउनुभएको छ ।
नेपाली जनसहभागिता कम भएता पनि विदेशी नागरिकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा भिजिट नेपाल २०२० बारे डकुमेन्ट्री सहित नेपाल सम्बन्धि केही संदेश मुलक जानकारी समेत गराइएको थियो । शिवाकाटीले बिदेशी नागरिक,कोरियन तथा एसियाली नागरिक सामु नेपालको बारेमा वर्णन गर्दै नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्रवासमा बसेर पनि आफ्नो देशको कला गीतसंगीत भेषभुषाको जगेर्ना गरे बाफत र दुइ देश बीचको सहयोगमा योगदान पुर्याएको भन्दै शिवाकोटीलाई कोरिया सरकार संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयले सम्मान गरेको थियो । सम्मान पछि शिवाकोटीले आफ्नो धारणा राख्दै भने नेपाल सरकारले कोरिया स्थित नेपाली दूतावास संग सहकार्य गर्दै कोरियाको विभिन्न प्रमुख शहरहरुमा नेपाली खानाका परिकार हरु र नेपाल चिनाउने केही महत्त्वपूर्ण कार्यक्रमहरु राख्ने बाताबरण बनाइदिने हो भने आफू निःशुल्क रुपमा सहयोग गर्न तयार रहेको बताए ।