२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

नियमित उडानको पर्खाइमा लामीडाँडा विमानस्थल

Logo
जनचर्चा संवाददाता

टाङ,७ भदौ ।  जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न  गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गरेका हुन् ।

समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उनले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिएका थिए । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन ।

विसं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्र गरिएको गरिएको छ । पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले कालोपत्र गरेको हो ।

जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको विमानस्थल यसअघि जिल्लाको निकै व्यस्त रहने विमानस्थलमा पर्थ्यो । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो ।

अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै नियमित उडान बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यताले स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।

तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले आरोप लगाएको छ । “स्थानीय बासिन्दाले कुटो र कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामीडाँडा विमानस्थलमा कालोपत्र भएको छ । तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ”, उनले भने, “नियमित उडान भराउन सम्बन्धित निकायमा पटकपटक अनुरोध गरिरहेका छौँ । राज्यको ठूलो लगानीमा कालोपत्र गरिएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले पनि चासो दिएका छैनन् । यसप्रति ध्यान जान जरुरी छ ।”

लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको लगानीमा कालोपत्र गरिएको विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ ।

विमानस्थलमा उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्नेगरी पहल भइरहेको सांसद रामकुमार राई ‘पासाङ’ले बताए । “लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो । राज्यकोषको लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल छ वर्षदेखि उडान अवरुद्ध छ”, उनले भने, “नियमित उडान भर्नेगरी सम्बन्धित निकायमा पहल गरिरहेको छु । अहिलेसम्म कुनै नतिजा आएको छैन । यद्यपि, पहल गर्ने काम भइरहेको छ ।”

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तीन वटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ ।

प्राधिकरणको रु सात करोड २४ हजार तीन सय ८० लागतमा लामा बुइल्डर्स/चाङ्मिला जेभी निर्माण कम्पनी कालोपत्र गरेको खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र ‘रेफर’ गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सन प्रालिले प्राधिकरणको रु १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्र गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]