१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन भएपछि मंगलबार सहरका विद्यालयहरू खुल्न सकेनन् । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाका अनुसार विद्यालय बन्द गर्ने कुनै औपचारिक निर्णय भएको छैन । तर स्कुल बस सञ्चालनमा अवरोध पुग्ने चेतावनी र सुरक्षा जोखिमका कारण विद्यालयहरूले आफैं पठनपाठन स्थगित गरेका हुन् । उता, घटनाप्रति शोक व्यक्त गर्दै देवानगञ्ज र हरिनगर गाउँपालिकाहरूले सार्वजनिक बिदा घोषणा गरेका छन् । यसका साथै यस क्षेत्रका शैक्षिक संस्थाहरू पनि आज बन्द रहेका छन् । स्थिति नियन्त्रणमा राख्न स्थानीय प्रशासनले सुरक्षा प्रबन्ध थप कडा बनाएको जनाएको छ ।