२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

धौलागिरि हिमालको सेतो स्वरुप धमिलिँदै

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, फाल्गुण २४, २०८०

जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ ।

अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो ।

 

धौलागिरि हिमालमा पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय हिउँ पर्ने समय (हिउँद) मा पनि हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको  धवलागिरि गाउँपालिका–४ का वडासदस्यसमेत रहेका पर्यटन व्यवसायी हरि तिलिजाले जानकारी दिए ।

‘धौलागिरि हिमालको स्वरुपमा परिवर्तन देखिन थालेको करिब सात वर्षजति भयो । त्यसभन्दा पहिले हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो’, उनले भने, ‘पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग कालो पहाडजस्तो देखिन थालेको छ । हिउँदमासमेत हिमालको तल्लो भाग धमिलो र कालो देखिन थालेको छ ।’

एक दशक अघिसम्म धौलागिरि हिमाल र पश्चिमका उच्च लेकाली क्षेत्रमा पुस लाग्ने वित्तिकै हिउँपरेको देखिनेमा विगत केही वर्षयता हिमालमा हिउँ परेको हेर्न फागुन कुर्नुपर्ने अवस्था आएको स्थानीय टेकप्रसाद पुनले बताए ।

‘पहिले पुस महिनामा भारी हिमपात हुने भए पनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । यसवर्ष मध्य माघसम्म पनि राम्रोसँग हिउँ परेको छैन । समयमा हिउँ पर्याप्त नपर्ने, हिमालमा भएको हिउँ पग्लिएर जाँदा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुँदै जान थालेका छन्’, उनले भने ।

धौलागिरि हिमालको आधारशिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि सुरु हुने हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतह घट्दै गएको पाइएको धवलागिरि गाउँपालिका–४ मुदीका वडाअध्यक्ष यामबहादुर घर्तीले बताए ।

‘म जान्ने हुँदादेखि धौलागिरि वरपरका सबै डाँडाकाँडा मङ्सिरदेखि नै हिउँ परेर सेताम्यै हुन्थे’, उनले भने, ‘खर्क र खोल्सामा चिस्यान हुन्थ्यो । अहिले हिमालको तल्लो भाग र वरपरिका डाँडा सबै काला भएका देखिन्छन् ।”

समयमा हिउँ नपर्दा हिमाल मात्र काला देखिएका होइनन् तल्लो क्षेत्रमा पाइने पशुपक्षी र जङ्गली जनावर पनि बसाइँ सर्न थालेका स्थानीयवासीले बताएका छन् ।’धौलागिरि वरपरका उच्च लेकाली जङ्गलमा मात्र पाइने रेडपाण्डा अहिले बस्ती छेउमा देखिन थालेका छन् । कालीज, तित्रा पनि गाउँमै भेटिन थालेका छन्” स्थानीय पृथबहादुर विकले भने ।

धौलागिरि मात्रै नभइ जिल्लाको गुर्जामा रहेका गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा पनि कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिँदै बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेका उनको भनाइ थियो ।

हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको विकले बताउनुभयो । “पछिल्ला केही वर्षयता हिउँ पर्ने क्रम घट्दै गएको छ । दश वर्षजति भयो हिमाल र वरपरका क्षेत्रमा हिउँ कम पर्न थालेको’, उनले भने, ‘पहिले पाँच छ फिटसम्म हिउँ पर्दथ्यो । हिउँ पग्लिन हप्तौँ लाग्थ्यो । अहिले मुस्किलले दुई/तीन फिटसम्म पर्छ । त्यो पनि एकै दिनमा पग्लिएर बग्छ ।”

हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको वडाअध्यक्ष घर्तीले जानकारी दिए ।तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको उनको भनाइ थियो ।

पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको किसानको भनाइ छ ।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् ।

यस्तो छ धौलागिरि हिमालको इतिहास

धौलागिरि हिमालको इतिहास भारत स्वतन्त्र हुनुभन्दा पहिला सन् १९४७ अघि भारतमा शासन गरेका अङ्ग्रेजहरुसँग जोडिएको इतिहासकारको भनाइ छ ।

‘सन् १९४७ पूर्व भारतमा अङ्ग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा अङ्ग्रेजले सेतो पहाड देखे । सेता पहाड देख्दा उनीहरु लोभिएपछि खोजी गर्दै जाँदा धौलागिरि हिमाल पत्ता लगाएका हुन्’, म्याग्दीका इतिहासकार कर्णबहादुर बानियाँले भने ।

उनका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मईमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम शृङ्खलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो ।

म्याग्दी जिल्लाको उत्तरी भू-भागमा धवलागिरि हिम शृङ्खला रहेको छ । यो हिम शङ्खला सेतो भएकाले यसलाई धवलागिरि भनिएको हो भन्ने बानियाँको भनाइ छ ।

‘धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम शृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैँ टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरि’ भनिएको हो’, इतिहासविद् बानियाँले भने, ‘म्याग्दी हिमाल, ताल, छहरा र पहराले सजिएको छ । यिनै सौन्दर्यलेयुक्त भएकाले यहाँको संस्कृति पनि शृङ्गारिक र मौलिक छ ।’

बानियाँका अनुसार प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई मोहनी लगाउने प्रशस्त सम्पदा हुँदाहुँदै पनि समुचित प्रयोग, प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदा अझै पनि ओझेलमा परेका छन् । त्यसका साथै यहाँ दर्जनौँ हिमशृङ्खला, छहरा, ताल, गल्छी, झरना रहेका छन् ।

पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्य म्याग्दीमा विद्यमान छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ, जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँको पुछारमा काली गण्डकीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी हो ।

गल्छीको उत्तर–पश्चिममा धवलागिरि हिमाल (८,१६७ मी) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी) छन् । यी दुई हिमशङ्खला बीचको दूरी करिब ३५ मिटर मात्र छ । दाना करिब १,२०० मिटरको उचाइमा अवस्थित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]