१७ कार्तिक २०८३, सोमबार
02-11-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला, ४० भन्दा बढी रोगको परीक्षण हुने

Logo
जनचर्चा संवाददाता

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो ।

प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण सहुलियत दरमा हुने भएको छ ।

उदघाटन कार्यक्रममा मेयर कोइरालाले महानगरवासीलाई सस्तो शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धताअनुसार प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए । निजी स्वास्थ्य संस्थाको तुलनामा रानी अस्पतालबाट प्रयोगशालाका सेवासहित अन्य स्वास्थ्य सेवा कम शुल्कमा उपलब्ध गराउने महानगरको नीति रहेको उनको भनाइ थियो ।

‘स्वास्थ्य सेवा महँगो हुँदा विपन्न तथा निम्न आय भएका परिवार बढी प्रभावित हुन्छन् । महानगरको स्वामित्वमा रहेको अस्पतालबाट गुणस्तरीय सेवा सस्तोमा उपलब्ध गराएर नागरिकको स्वास्थ्य उपचारमा हुने खर्च घटाउने हाम्रो उद्देश्य हो,’ कोइरालाले भने, ‘रानी अस्पताललाई दक्षिणी क्षेत्रसहित समग्र विराटनगरका नागरिकका लागि भरपर्दो स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्दै लैजानेछौँ ।’

महानगरका १९ वटै वडाका वडाध्यक्षको उपस्थितिमा भएको कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरेकोमा महानगरपालिकाको पहल सकारात्मक रहेको बताए । विगतमा विकासका दृष्टिले पछाडि परेको दक्षिणी क्षेत्र पछिल्लो समय महानगरको प्राथमिकतामा पर्न थालेको उनको भनाइ थियो ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले रानी अस्पतालबाट प्रयोगशालासहितका स्वास्थ्य सेवा विस्तार हुँदा विपन्न तथा पछाडि परेका समुदाय प्रत्यक्ष लाभान्वित हुने बताए । स्वास्थ्य परीक्षणका लागि महँगो शुल्क तिर्नुपर्ने बाध्यता घटाउन महानगरको पहल प्रभावकारी हुने उनको भनाइ थियो ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए । निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द रहेको अवस्थामा प्रयोगशालालगायत स्वास्थ्य परीक्षणका लागि बिरामीले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

रानी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा रहेकाले बीमा कार्ड प्रयोग गर्ने सेवाग्राहीले प्रयोगशालासहितका विभिन्न सेवा निःशुल्क लिन सक्ने यादवले जानकारी दिए । स्वास्थ्य बीमाको पहुँचबाट उपचार सेवा लिने नागरिकका लागि प्रयोगशाला सेवा थप उपयोगी हुने उनको भनाइ छ ।

रानी अस्पतालका प्रमुख मानिकचन भगतका अनुसार प्रयोगशालामा सुगर, थाइराइड, पूर्ण रक्त परीक्षण, कलेजोको कार्य परीक्षण, मिर्गौलाको कार्य परीक्षण, मलेरिया, कालाजारलगायत ४० भन्दा बढी प्रकारका साधारण तथा विशेष परीक्षण हुनेछन् । प्रयोगशालामा आवश्यकताअनुसार थप परीक्षण सेवा विस्तार गर्दै जाने तयारी रहेको अस्पतालले जनाएको छ ।

रानी अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवाको दायरा पनि विस्तार गर्दै आएको छ । अस्पतालमा २४ घण्टे प्रसूति केन्द्र (बर्थिङ सेन्टर), निःशुल्क फिजियोथेरापी सेवा, विद्युतीय मुटु परीक्षण, गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत विशेषज्ञ सेवा उपलब्ध रहेको महानगरका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताए ।

प्रयोगशाला सेवा सञ्चालनमा आएसँगै रानी अस्पतालबाट उपचारसँगै रोग पहिचानका लागि आवश्यक परीक्षणसमेत सहज र सहुलियत दरमा उपलब्ध हुने भएको छ । महानगरपालिकाले अस्पतालको सेवा विस्तार गर्दै दक्षिणी क्षेत्रका साथै समग्र महानगरवासीको स्वास्थ्य सेवामा पहुँच बढाउने लक्ष्य लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]