३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

स्वस्थानीको व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास

Logo
जनचर्चा संवाददाता

विराटनगर, माघ १४। धर्मावलम्बीहरूले चोखोबसी घरमा श्री स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालु महिनाहरूले पौष शुल्कपूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटेर, स्नानगरी चोखो लुगा लगाएर मध्याह्नमा महादेवको पूजागरी व्रत सुरुआत गर्दछन् ।

माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुहरूले एक छाक चोखो खाई एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले श्री स्वस्थानीको पूजा गर्ने प्रचलन छ । व्रत समाप्तिको दिन ती रोटी, पान सुपारी आफ्ना पतिलाई, पति नभए छोरालाई, छोरा नभए मितछोरालाई, मितछोरा पनि नभए मेरो कामना पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ । श्री स्वस्थानीको व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । श्री स्वस्थानीको व्रतभर काठमाडौंको साँखुस्थित सालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंगपतन भएको मानिने धार्मिकस्थलहरू तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो हुनुको साथै मेला पनि लाग्ने गर्दछ ।

श्री स्वस्थानी भगवतीको व्रत, पूजा र कथा नेपालीको घरघरमा गरिन्छ । नेपाल बाहिर गएका प्रत्येक नेपालीले पनि एउटा परमपवित्र सांस्कृतिक, धार्मिक, पारिवारिक, पारस्परिक पर्वको रूपमा मनाइने श्री स्वस्थानी व्रतकथा हो । यो नेपालमा श्री स्वस्थानी भगवतीको पूजाको ठूलो महत्व छ । अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनको निमित्त श्री स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ । श्री स्वस्थानीको पूजा ठूलो उत्साह, उल्लास र समारोहका साथ गरिन्छ । श्री स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन् । प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ । यो कथा एक महिनामा सक्नुपर्छ । नसकिएमा कुनै दिन २–२ अध्याय भनेर पनि सक्नुपर्छ ।

यद्यपि माघस्नानको नियम र महत्व छिमेकी देश भारतमा पनि देखिन्छ । किन्तु श्री स्वस्थानी भगवतीको पूजा नेपालीको आफ्नो विशेषता हो । धर्मप्राण नेपालीमा श्री स्वस्थानीको कथाले महत्वपूर्ण प्रभाव पारेको देखिन्छ । श्री स्वस्थानी व्रतको कथामा शिव शर्मा र ब्राह्मण र उनकी ब्राह्मणी सती नामकीलाई कुनै सन्तान नहुँदा दुःखी भएकोमा उनको पुण्यले गर्दा त्यहाँ आइपुगेकी यौटी गाईको गोबरमा रुपवती कन्या उत्पन्न भइन् । तिनको गोमा नाम राखेर शिव शर्माले पाले र ठूली भएपछि सन्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा ‘असी वर्षको बूढो तेरो पति होस्’ भन्ने श्राप पाइन् । त्यस्तै भयो र वृद्धबाट गोमाको गर्भमा पुत्र रह¥यो । वृद्ध पति एक महिनाको अवधि राखेर विदेश गएकोमा उतै बितेछन् । गोमाले छोरो पाइन् र उनको छोराको नाम नवराज राखियो ।

छोरा ठूलो भएपछि मेरो पिताजी कहाँ जानुभयो भनेर सोधेकोमा गोमाले सबै वृत्तान्त बताइन् । छोरा पितालाई खोज्न हिँडे र मरेको थाहा पाएर किरिया गरेर फर्के । उता गोमाले ऋषिहरूको उपदेशले श्री स्वस्थानी भगवतीको ‘मेरो छोरो चाँडै फर्कोस्’ भनेर पूजा व्रत गरिन् । नवराजले पनि भगवान् शिवको स्तुति गरेर राज्य पाउने वरदान पाए । घर फर्केर आएपछि पूर्वविवाह गरिएकी पत्नीलाई आमा छोडेर कमाउन भनी गएका नवराजले लावण्यपुरीको राज्य त्यस देशको हात्तीले फूलमाला लगाइदिएकाले राज्य पाउने नियमले पाए । आमालाई बोलाए । नवराजले अर्को विवाह गरे ।

उनकी प्रथम पत्नीले उनकी आमालाई छाडेर माइत गएर बसेकी थिइन् । बोलाउन पठाएकोमा श्री स्वस्थानीको निन्दाले कुष्टी भएर भुइँमा खसेर बसिन् । पछि श्री स्वस्थानीको पूजाले स्वस्थ भइन र पुनः पति प्राप्त गरिन् । यो कथामा श्री स्वस्थानी भगवतीको वर प्रसादले नवराजकी प्रथम पत्नीले पनि पहिला भगवतीको निन्दा र अपमानले कुष्ठरोगयुक्त भएकी थिइन र पछि उनै भागवतीको व्रत र पूजाले पुनः स्वस्थान (आफ्नो स्थान) पाइन् । त्यसो हुँदा स्थान च्यूत व्यक्तिले स्वस्थान प्राप्त गर्न श्री स्वस्थानीकै व्रत र पूजा गर्नुपर्छ भन्ने तथ्य पाइन्छ । श्री स्वस्थानीको व्रतकथा सम्पूर्ण कामनालाई पूर्ण गर्नेवाला व्रतकथा हो ।

यसको प्रभावले यस लोकमा र स्वर्गलोकमा पूज्य स्थान प्राप्त गर्न सकिन्छ । त्यसैले श्री स्वस्थानी कथाजस्ता आफ्ना धार्मिक कृत्यहरू गर्न छोड्नहुन्न । यस कथाको आधारमा भन्ने हो भने नेपाली समाजमा एउटा धर्मप्रतिको जनविश्वास कस्तो छ भन्ने कुरालाई दर्शाएको छ । हाम्रो समाजले श्री स्वस्थानी व्रतप्रति धेरै विश्वास गरेर महिनादिनसम्म चोखो, शुद्ध, साकाहारी खाएर श्री स्वस्थानीको दैनिक कथा श्रवण गरी बस्ने चलन हालसम्म कायम नै रहेको पाइन्छ ।

सगम्रमा भन्नुपर्दा नेपाली समाजमा श्री स्वस्थानीको महिमा ठूलो र महत्वपूर्ण रहेको छ । जसका कारण घरघरमा श्री स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । हरेकवर्ष पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरी माघशुक्ल पूर्णिमासम्म श्री स्वस्थानी परमेश्वरीको व्रत एवं पूजा गर्ने परम्परा रहिआएको छ । यसै सन्दर्भलाई राम्ररी हेर्ने हो भने श्री स्वस्थानी माहात्म्यको पूर्वभागमा सृष्टि वर्णन तथा दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग आएको छ भने मध्यभागतिर हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा पुनर्जीवन लिएकी सतीदेवीले श्री स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिको रूपमा प्राप्त गरेको प्रसंग आएको छ ।

स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्द्रावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । साथै काम र उमेरले पाका भएको व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई शिरोधार्य गर्नुपर्छ, अनि मात्र स्वस्थ समाज बन्ने कुराको अनुभूतिजस्ता दृष्टान्तहरू दिन खोजेको पाइन्छ ।

स्वस्थानीको अर्थ के हो ?

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ ।

रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथामा प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरी साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ:–

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

यसको अर्थ सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]