विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । ट्रक पल्टिदा टाईल र मार्वलको भारीले च्यापेर मजदुरको ज्यान लिएछ । ड्राइभरसहित अगाडि बसेका दुई जना मजदुर जोगिए । ज्यान जोगिए पनि टाउकोमा लागेको चोटका कारण गम्भीर घाइते नै छन, उनीहरूको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार हुँदैछ ।
जान आनाकानी गर्दै थिए मजदुर
दुर्घटना परेका सबैजना विराटनगरस्थित रोयल मार्बलमा लामो समयदेखि काम गर्दै आएका कामदारहरू रहेछन् । दुर्घटना भएको दिन माघ १ गते माघे संक्रान्ति थियो । त्यसदिन एकाविहानै उनीहरूलाई रोयल मार्बलका म्यानेजरले फोन गरी टाइल र मार्बल राजविराज पुर्याउन अर्हाएका रहेछन् । तर सो दिन पर्व परेकाले उनीहरूले काम गर्न अस्वीकार गरे । सामान पुर्याउन अति जरुरी रहेकाले रोयल मार्बलका म्यानेजरले मजदुरहरुलाई फेरी फोन गरे । अर्काे चोटीको फोनमा अहिलेनै राजविराजतर्फ निस्कन र दिउँसो आएर पर्व मनाउन म्यानेजरले मजदुरहरुलाई सुझाए । जवाफमा मजदुरहरूले टाइल र मार्बल धेरै रहेकाले दुई टिपसम्म लगाउनुपर्ने र अबेर हुने भन्दै फेरी पनि जानलाई अस्वीकारनै गरे ।
केही उपाय नलागेपछि एकै टिपमा सबै टाइल मार्बल पुर्याउने म्यानेजरले निधो गरे । यहिवाटैनै कुरा विग्रिएको देखिन्छ । कम्पनीबाट पटक पटक फोन आएपछि रोजगारीको सवाल भएकाले मजदुररुले नाइँ भन्न सकेनन् । तर गाडीमा लोड धेरै भएकाले सामान पहिला सामान पुर्याउनु र आफूहरू पछिपछि सार्वजनिक बसमा आउने भन्दै मजदुरले अग्रह पनि गरे । तर सो मजदुरको आग्रह ठाडै अस्वीकार भयो । किनभने मजदुरका लागी थप भाडा तिर्नुपर्ने लोभ र फेरि बहाना गरेर मजदुरहरु नगइदेलान् भन्ने साहुलाई डर पनि थियो । त्यही भएर साहुजीले म्यानेजरमार्फत ठाडै हप्कीधप्की गर्दैगराउँदै सबैलाई ट्रकमै पठाएको स्रोत बताउँछ ।
लोड धेरै गरी पठाइएको थियो ट्रक
करिब १० टन भारबहन क्षमता रहेको सो ट्रक निकै पुरानो भएकाले बोक्ने क्षमतामा पनि निकै ह्रास आइसकेको रहेछ । तर सोही ट्रकमा एक हजार स्क्वायर फुट भन्दा बढी मार्बल र सोही अनुपातमा टाइल लोड गरी लगाँदै थियो । जुन १० टन भन्दा बढी हुन जान्छ । र थप ८ जनाको तौल ५ सय किलो भन्दा बढी हुनेनै भयो । राजमार्गमा बाटोको अवस्था हेर्ने हो भने फुल लोड गरी सामानहरू लान सम्भव पनि छैन । तर पनि दबाबको कारण मजदुरहरू फुल ट्रक सामान लान बाध्य थिए । परिणामतः साहुकाे लोभ र अर्कमणयता कारण ट्रक अनियन्त्रित भई पल्टन पुग्यो ।
मृतकका परिवारजनद्वारा आन्दोलन
दुर्घटना भएपश्चात् सुनसरी प्रहरी घटनास्थलमा पुग्यो । प्रहरी पुग्दा ड्राइभर घटनास्थलबाट फरार भईसकेको थियो । पाँचजना मजदुरकाे मृत्यु भएपछि, मृतकका आफन्तले दिनभर विराटनगर कञ्चनबारी स्थित रोयल मार्बलको शाेरुम अगाडि प्रदर्शन गरे । आन्दोलन उग्र हुने देखिएपछि रोयल मार्बलका सञ्चालक र मृतक परिवारको आफन्तजनलाई मोरङ प्रहरीले वार्तामा बोलायो । सुरुवातमा रोयल मार्बलले मृतकलाई आफ्नो कर्मचारी मान्नै इन्कार गर्दै उनीहरू ज्यालादारीका चिनजान नभएको मजदुर हो भन्यो । तर पछि मृतकको आफन्तले उनीहरू त्यहाँ वर्षौंदेखि काम गर्दै आएको र उनीहरूसँग त्यहाँको परिचयपत्र समेत रहेको कुरा मिडिया समक्ष खोलेपछि रोयल मार्बलका प्रतिनिधि हच्किए । सुरुवातमा कुनै पनि जिम्मेवारी नलिने भन्दै आएको रोयलका प्रतिनिधिहरू समझदारीमा आउन तयार भए । मृतकको परिवारजनले मृत व्यक्ति फिर्ता आउन नसक्ने भन्दै प्रति व्यक्ति २० लाख क्षतिपूर्तिको माग गरे । पहिलो दिन अबेर रातसम्म पनि क्षतिपूर्तिको कुरा मिल्न सकेन त्यो दिन त्यसै बित्यो ।
प्रति मृतक ११ लाख दिने शर्तमा मिल्यो विवाद
दोस्रो दिन बिहानैदेखि वार्ता सुरु भयो, दिउँसोसम्म पनि क्षतिपूर्तिमा सहमति हुन नसकेपछि, मृतकका आफन्तजनले सुनसरीको प्रहरी कार्यालयमै तोडफोड सुरु गरे । अवस्था असामान्य हुनेदेखेपछि चौतर्फी दबाब बढ्यो । रोयल मार्बलका प्रतिनिधिहरु क्षतिपूर्ति दिने कुरामा लचक भए, क्षतिपूर्तिवापत प्रति मृतक ११ लाख दिने कुरामा सहमति जुट्यो । केही रकम सवारीधनीले पनि दिनुपर्ने र पालिकाले पनि जनही १ लाख दिने पनि सर्वपक्षिय सहमति भयो।
ड्राइभरलाई दोष, सञ्चालकलाई उन्मुक्ति
पैसामा कुरा मिलेपछि ड्राइभरलाई पनि झिकाइयो । ड्राइभरलाई प्रहरीले सवारी ज्यान मुद्दा चलाएको रहेछ । दुईपक्षीय समझदारीपछि मुद्दा फितलो पारिएकाले ड्राइभरले पनि छिट्टै नै उन्मुक्ति पाउने देखिन्छ । अधिवक्ता अनिष खनालका अनुसार मुद्दा फितलो भएको खण्डमा ३० दिनदेखि ६० दिनसम्म थुना हुन सक्छ । त्यो पनि ड्राइभरले मात्र खेप्नुपर्नेछ । क्षतिपूर्तिमा पहिले नै सहमति भइसकेकाले थप क्षतिपूर्तिको कुरा आएन ।
अर्कोतर्फ रोयल मार्बलका सञ्चालकले कुनै पनि कानुनी कारबाही भोग्नुपर्ने देखिँदैन । यस मुख्य संचालक अमित सिघंल हुन्, राजेश अग्रवाल लगाएत अन्य पनि यस कम्पनीमा साझेदार छन् । सहमतिपश्चात् सिंहल लगाएत कोही पनि सझैदारहरुलाई कुनै मुद्दा पनि चलाइएको छैन ।
मुर्दाको वकालत कसले गर्ने ?
यो घटना सरसर्ति हेर्दा सवारी ज्यान मात्र नभएर, कारकाप र लापरवाहीको उपज पनि देखिन्छ । मुलुकी देवानी संहिता, २०७४ को दफा १८४ मा स्पष्ट व्यवस्था छ, कसैले आवश्यक सावधानी नअपनाई, लापरवाही वा हेलचेक्र्याइँ गरेकै कारण कसैको ज्यान गएमा यो फौजदारी कसुर आकर्षित हुन्छ । यस घटनामा रोयल मार्बलका तर्फबाट कारकाप, लापरवाही तथा हेलचेक्र्याइँ भएको प्रस्ट भएको देखिन्छ । तर पैसामा कुरा मिलेपछि रोयल मार्बलका सञ्चालक अमित सिंहल लगाएतले सहजै छुटकारा पाएका छन् ।
एकातर्फ पैसामा कुरा मिलिसकेको छ अर्कोतर्फ मुर्दा आफै उठेर बोल्न सक्दैन, सम्भव छैन । मुर्दाले मलाई अन्याय भयो भन्न पनि सक्दैन। दुर्घटना हुनुअघि मजदुरले काम गर्न इन्कार गरेको कुरा घटनाको विवरणमा खुलेकै छ, कम्पनीकै कारकाप र लापरवाहीले ज्यान गएको पनि घटनाले पुष्टी गरिसकेको छ । तर अब मुर्दाले बिउँतिएर आफ्नो पक्षमा वकालत गर्न सक्दैनन् यस्तोमा नागरिक समाज, मानव अधिकार र राज्यको संयन्त्रको कर्तव्य बन्छ, मुर्दाको पक्षमा वकालत गर्न, तर यहाँ सबै संयन्त्र चुपचाप छन्, बेखबर छन् ।
अवको बाटो….
यति भईसक्दा पनि रोयल मार्बलका संचालकहरु प्रत्यक्ष सम्पर्कमा आएको छैनन् । संचालक सिघंलले पिडित पक्षसँग भेट्नलाई समेत प्रतिनिधि मात्र पठाईरहेका थिए । उता प्रहरीप्रसाशनलाई प्रभावमा पारी मुद्दाबाट आफु पंछिनै सकेकाछन् ।
प्रहरी प्रसासन र मृतकको परिवारलाई मिलाएर कानुनबाट छुटकार पाईसके भन्ने सोचमा छन् सिघंल । तर पाँच जना निमुखा मजदुरहरुकोे ज्यान साहुको करकाप र लापवाहीले गएको छ यो गम्भीर विषय हो । यो विषय मृतकको परिवारसँग मात्र नजोडिएर समाज सन्तुलन, न्यायकनिरुपण र अपराधसँग जोडिएको समेत कुरा हो ।
हाल यो विषयले मिडिया तथा नागरिक समाजलाई झक्झक्याएको छ । मानव अधिकार आयोग लागएत अन्य मानव अधिकारसँग संवन्धित संघसंस्थाहरुपनि यस विषयको यथार्थपरक छानविनमा लाग्न जरुरी छ ।
हाम्रो कानुनले मुर्दाको पनि अधिकार हुन्छ भनेको छ, कानुनतः शवले पनि सम्मान र न्याय पाउनुपर्दछ। तर यहाँ…………...मुर्दाको वकालत कसले गर्ने ?
मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षका चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन्। उनीहरु सुनसरीको बर्जु गाउँपालिकाको एउटै टोलका बस्ने वासिन्दा थिए ।