विराटनगर, साउन २३ । कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २२ गतेदेखि नौ दिनसम्म ‘विराट व्यापार मेला’ सञ्चालन हुने भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योग–व्यवसायको विस्तार र स्वदेशी वस्तु तथा सेवाको बजार पहुँच बढाउने लक्ष्यसहित विराट व्यापार संघले मेला आयोजना गर्न लागेको हो ।
असोज ३० गतेसम्म चल्ने मेलामा उद्योग, व्यापार, सेवा र वित्तीय क्षेत्रका करिब २० वटा विधाका प्रदर्शनी स्टल रहनेछन् । सुनचाँदी, हार्डवेयर, जुत्ता–चप्पल, स्टिल, अटोमोबाइल, कपडा, फर्निचर, कृषि, खाद्यान्न, बैंकिङ, होटल तथा पर्यटनलगायतका उत्पादन र सेवा एकै ठाउँमा हेर्न पाइने आयोजकले जानकारी दिएका छन् ।
संघका अध्यक्ष प्रमोद जिन्दलका अनुसार मेलाले स्थानीय उद्योगी, व्यवसायी र उपभोक्ताबीच सिधा व्यापारिक सम्बन्ध विस्तार गर्न मद्दत गर्नेछ । यससँगै नयाँ बजार र सम्भावित लगानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउने, स्वदेशी वस्तुको प्रयोग बढाउने र उद्यमशीलतालाई बलियो बनाउने उद्देश्य पनि मेलाको रहेको उनले बताए ।
विराटनगरको जैन भवनमा हुने मेलाको उद्घाटन असोज २२ गते र समापन असोज ३० गते गरिनेछ । मेलामा एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ता सहभागी हुने अनुमान छ ।
आयोजकका अनुसार मेलालाई कारोबार वृद्धि, नयाँ प्रविधि र सेवाको प्रदर्शन तथा उद्योग र सेवा क्षेत्रबीच सहकार्य बढाउने प्रभावकारी मञ्चका रूपमा विकास गरिनेछ । यसले स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने, साना तथा मझौला उद्यमलाई बजारसँग जोड्ने र उपभोक्तालाई एकै थलोमा विविध उत्पादन र सेवाको जानकारी उपलब्ध गराउने विश्वास लिइएको छ ।
व्यापारिक गतिविधिसँगै मेलामा रक्तदान, विपद् व्यवस्थापनसम्बन्धी सचेतना, सामाजिक उत्तरदायित्वका कार्यक्रम र जनचेतनामूलक गतिविधि पनि हुनेछन् । मेलालाई किनबेचमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा अघि बढाउने तयारी आयोजकको छ ।
विसं २०५७ असार १२ मा स्थापना भएको विराट व्यापार संघले व्यवसायीको हकहित संरक्षण, निजी क्षेत्रको सशक्तीकरण र आर्थिक गतिविधि विस्तारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।